News दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिता अन्तर्गत वडा नं. ९ र ११ बीचको नतिजा उल्टियो
गोलनेपाल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत पुष ५ गते शनिबार वडा नम्बर ९ र ११ बीच सम्पन्न भएको प्री क्वाटर फाइनल खेलको नतिजा उल्टिएको छ।

आयोजक कमिटीको नियमलाई उल्लङ्घन गरेको भन्दै वडा नम्बर ९ लाई उक्त प्रतियोगिताबाट कारबाही स्वरूप निष्कासन गर्दै अब दोस्रो चरणमा वडा नम्बर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो। उक्त खेलमा वडा नम्बर ९ ले ११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। उक्त नतिजा उल्टिदा वडा नम्बर ११ ले ६-३ को नतिजामा दोस्रो चरण खेल्ने पक्का भएको छ। अब दोस्रो चरणमा वडा नम्बर ११ र १२ प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताका लागि आयोजक टोलीले आफ्नै नियम निर्माण गरेको थियो जसमा सम्पूर्ण सहभागी वडाहरूले आफ्ना खेलाडीहरूको सरकारी कागजपत्रहरू २०८१ साल चैत्र मसान्तसम्म पेश गरिसक्नुपर्ने भएतापनि वडा नम्बर ९ का केही खेलाडीहरूको कागजपत्र उक्त मितिभन्दा पछि पेश गरिएको भन्दै वडा नम्बर ११ ले विरोध जनाएको थियो।

उक्त विरोध पश्चात विवादमा तानिएको वडा नम्बर ९ का दुई खेलाडी नवीन परियार र दिलिप परियारको अनुसन्धानका क्रममा सरकारी कागजपत्र तोकिएको मितिभन्दा पछि मात्र उपलब्ध भएको ठहर हुँदै आयोजक टोलीले कारबाही स्वरूप वडा नम्बर ९ लाई प्रतियोगिताबाट निष्कासन गरिएको कुरा खेल संयोजक मदन भुसालले जानकारी दिनुभयो।


तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटा वडाहरूमध्ये १६ वटा वडाहरूको सहभागिता रहेको
उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६६,६६६ रुपैया सहित चाँदी जडित रनिङ ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु १,६६,६६६ सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पुष ४ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुनेछ।

Post Comments