News आरकेएफसी र एन्फा निलोको जित
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी प्रथम स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार बेलुका भएका दुई खेलहरुमा आरकेएफसी र एन्फा निलोले जित हात पारेका छन् ।

एन्फा टेक्निकल सेन्टर कै मैदानमा भएको पहिलो खेलमा आरकेएफसीले फर्साटिकर युवा क्लबलाई २–१ ले हरायो । आरकेएफसीको जितमा दुवै गोल सुजन दगामीले गरे भने पराजित फर्साटिकरका लागि यशपाल बिकले गरेका थिए । खेलमा दुई गोल गरेका आरकेएफसीका सुजन दगामी प्लेयर अफ दि म्याच बने ।

त्यस्तै अर्को खेलमा एन्फा निलोले नव जीवन युवा क्लबमाथि पेनाल्टी शुटआउटमा ३–२ को जित निकाल्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा एन्फा निलो विजयी बनेको हो । खेलमा एन्फाका विप्लव गुरुङ प्लेयर अफ दि म्याच चुनिए ।

गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,००१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही पुष १४ गतेका दिन हुनेछ ।

Post Comments