तरहरा । खारखोला फुटबल क्लब, बराहक्षेत्र यहाँ जारी दोस्रो तरहरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा खारखोलाले योङ ब्वाईज फुटबल क्लब, इटहरीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।
खारखोलाको जितमा आकाश राईले दोस्रो हाफको १३औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता आकाश राई नै प्लेयर अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत पुष ९ गते बुधबारको पहिलो सेमिफाइनल खेल केराबारी फुटबल क्लब, मोरङ र पञ्चायन फुटबल क्लब, रामधुनीबीच हुने आयोजकले जानकारी दियो ।
योङ ब्वाईज फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।