News आयोजक गोर्खा ब्वाईज र जनज्योति फाइनलमा भिड्ने
सुरज राना मगर

बुटवल । आयोजक गोर्खा ब्वाईज स्पोर्टस क्लब र जनज्योति क्लब रुपन्देहीमा जारी प्रथम स्व. निशान न्यौपाने स्मृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । शनिबार सम्पन्न दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेल जित्दै गोर्खा ब्वाईज र जनज्योतिले फाइनलमा भेट पक्का गरेका हुन् ।

बुटवल–११, देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको सेमिफाइनलतर्फ गोर्खा ब्वाईजले झरना स्पोर्टस क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । गोर्खा ब्वाईजको जितमा सदिप केसी र निराजन खत्रीले गोल गरे । उता झरनाका लागि भने अशोक घर्ती मगरले गोल गरेका थिए । खेलमा गोर्खा ब्वाईजका सदिप केसी प्लेयर अफ दि म्याच चुनिए ।

त्यस्तै अर्को सेमिफाइनलमा जनज्योतिले एन्फा एकेडेमी बुटवललाई १–० ले हराउँदै फाइनलमा स्थान बनायो । जनज्योतिको जितमा कप्तान अस्मित शर्माले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको प्लेयर अफ दि म्याच पनि जनज्योतिका निर्णायक गोलकर्ता अस्मित शर्मा नै चुनिए ।

गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,००१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३५००१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही पुष १४ गतेका दिन हुनेछ ।

 

Post Comments