News ३३औं त्रिवेणी कप शुरु, एपिएफको उत्कृष्ट शुरुवात
गोलनेपाल

बेसीशहर । शनिबारदेखि मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक ३३औं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगितामा एपिएफ फुटबल क्लब, काठमाडौंले विजयी शुरुवात गरेको छ ।

सहजी खेलमैदानमा भएको उद्घाटन खेलमा एपिएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै उत्कृष्ट शुरुवात गरेको हो ।

एपिएफको जितमा समिरराज थोकरले प्रतियोगिता कै पहिलो ह्याट्रिक आफ्नो नाममा गरे । त्यस्तै थप दुई गोल भने मणि लामा र प्रदिप लामाले गरेका थिए । खेलमा ह्याट्रिक गरेका समिरराज थोकर प्लेयर अफ दि म्याच समेत चुनिए । उनले त्यसवापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत पुष १३ गते पहिलो खेल बिहान ११ बजे एनआरटी र भानु युनाइटेड (चक्रमपथ, काठमाडौं) बीच हुनेछ भने दोस्रो खेल २ बजे सुर्यपुर फुटबल क्लब, चितवन र लमजुङ मस्र्याङ्दी क्लब, लमजुङ बीच हुने आयोजकले जानकारी दियो ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २१ गतेका दिन हुनेछ ।

Photo: Hamro Lamjung Khabar

 

Post Comments