News वार्ड नम्बर ४ अन्तिम चारमा
गोलनेपाल

दुहबी । सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितातर्फ अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर ९ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै वार्ड नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलतर्फ वार्ड नम्बर ४ को जितमा २७औं मिनटमा श्रवण रिसिदेवले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भने ८३औं मिनटमा पुर्ण लिम्बुले गर्दै टोलीको जित पक्का गरेका थिए ।

उता खेलको अन्तिमतिर वार्ड नम्बर ९ दश खेलाडीमा सिमित हुन पुगेको थियो । मोहम्मद असलामले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि वार्ड नम्बर ९ दश खेलाडीमा खुम्चिएको थियो ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर ४ का श्रवण रिसिदेव घोषित भए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष मेहदी हुसेनले नगद २ हजारका साथ पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ २५ गते आइतबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर ६ र ७ बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २८ गतेका दिन हुनेछ ।

Post Comments