News गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
गोलनेपाल

कावासोती । सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा सम्पन्न प्रथम कावासोती गोल्डकपको उपाधि गण्डकी प्रदेश पुलिस क्लबले जितेको छ ।

बुधबार भएको फाइनलमा गण्डकी प्रदेश पुलिसले हनामी भरतपुर फुटबल क्लब, चितवनलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि चुम्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

भरतपुरले बनाएको दुई गोलको अग्रता जोगाउन नसक्दा पेनाल्टीमा निराश बन्न पुग्यो । निर्धारित समयतर्फ भरतपुरका लागि सुलभ मास्के र सृजन क्षेत्रीले गोल गरेका थिए । तर गण्डकी पुलिसका लागि दिपक गुरुङ र बिबेक गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पेनाल्टी शुटआउटमा गण्डकी पुलिस ५–४ ले विजयी बन्यो ।

विजेता बनेको गण्डकी प्रदेश पुलिसले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता भरतपुरले १ लाख ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । भरतपुरका सुलभ मास्के फाइनल खेलको प्लेयर अफ दि म्याच बने ।

अन्य विधागततर्फ प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी गण्डकी पुलिसका विपुल गौतम घोषित भए । उनले त्यसवापत नगद ७ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक गण्डकी पुलिस कै सरोज तामाङ बन्दा उत्कृष्ट डिफेन्डर गण्डकी पुलिसका रणदिप पौडेल चुनिए । उत्कृष्ट मिडफिल्डर भरतपुरका आकाश थापा मगर चुनिदा उत्कृष्ट फरवार्ड भरतपुर कै गणेश हमाल बने । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता कुल७ गोल गरेका अभिषेक चर्चका योमी चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे भने उत्कृष्ट प्रशिक्षक गण्डकी पुलिसका भरत गुरुङ बने । उनले पनि नगद ५ हजार र ट्रफी हात पारे ।

 

Post Comments