News अफ्रिका कप अफ नेशन्समा खराब प्रदर्शन गरेपछि गाबोन सरकारद्वारा राष्ट्रिय फुटबल टोली निलम्बित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व फुटबलमा राम्रै पकड बनाएको अफ्रिकी टोली गाबोन नेशनल फुटबल टिमले अहिले फेरि विश्व फुटबलमा नयाँ चर्चा बटुलिरहेको छ ।

खासगरी हाल मोरक्कोमा जारी प्रतिष्ठित अफ्रिका कप अफ नेशन्सको समूह चरणको तीनै खेलमा हार बेहोर्दै समूह चरणबाट बाहिरिएपछि गाबोन टोली संकटमा परेको हो ।

प्रतियोगिताको समूह एफमा रहेको गाबोनले आइभोरी कोस्ट, क्यामरुन र मोजाम्बिकसँग समेत हार बेहोरेपछि गाबोन सरकारले राष्ट्रिय फुटबल टोलीलाई नै निलम्बन गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दि गार्जियनका अनुसार गाबोन सरकारले राष्ट्रिय टोलीलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गर्नुका साथै टोलीका सबै प्रशिक्षक र व्यवस्थापन टिमलाई समेत बर्खास्त गरेको छ । साथै टिममा परिवर्तनको प्रत्याभुति दिलाउन र खेलाडीहरुलाई पाठ सिकाउन पिएरे एमरिक औबमेयाङ, ब्रुनो माङगा जस्ता केही चर्चित र सिनियर खेलाडीहरुलाई टिम बाहिर निकालेको छ ।

स्मरण रहोस, फिफा वरियताको ७८औं स्थानमा रहेको गाबोनले जारी अफ्रिका कप अफ नेशन्सतर्फ पहिलो खेलमा क्यामरुनसँग १–०, मोजाम्बिकसँग ३–२ र आइभोरी कोस्टसँग समान ३–२ को हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको थियो ।

 

Post Comments