बुटवल । राधाकृष्ण युवा क्लब, बुटवल, रुपन्देहीको आयोजनामा सम्पन्न स्व. ईश्वरी प्रसाद ज्ञवाली (उपाध्याय) स्मृति दोस्रो राधाकृष्ण फुटसल कपको उपाधि गोर्खा ब्वाईज स्पोर्टस क्लबले जितेको छ ।
शनिबार तिलोत्तमा नगर स्थित लुम्बिनी फुटसलमा भएको उपाधि भिडन्तमा गोर्खा ब्वाईजले बि.एम.सी. लाई ६–० को फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको गोर्खा ब्वाईजले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता बि.एम.सी. ले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक गोर्खा ब्वाईजका अनुप राना बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि गोर्खा ब्वाईज कै अंकित गुरुङले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने बि.एम.सी. का अंकित सिंजापति घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष हरि प्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक लक्षु सिंजाली लगायतले पुरस्कृत गरेका थिए ।