News नेपाल पुलिस स्कुल (रातो) लाई सातौं डिआइजिपी रनिङ कपको उपाधि
गोलनेपाल

धरान । सातौं डिजाइजिपी रनिङ कप कोशी प्रदेशस्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुल (रातो), धरानले जितेको छ ।

फाइनलमा नेपाल पुलिस स्कुलले प्रभात सेकेण्डरी इङलिस बोर्डिङ स्कुल, धरानलाई १–० ले हराउँदै उपाधि जितेको हो । खेलको सातौं मिनटमा बिकास मगरले गरेको एक मात्र गोल नेपाल पुलिस स्कुललाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

विजेता बनेको नेपाल पुलिस स्कुलले उपाधिसहित नगद ८१,००५ रुपैयाँ हात पार्यो भने उपविजेता प्रभात सेकेण्डरी इङलिस बोर्डिङ स्कुलले ४१,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

नेपाल पुलिस स्कुलका बिकास मगर फाइनल खेलको प्लेयर अफ दि म्याच बने । अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक नेपाल पुलिस कै सोनाहाङ राई बने । त्यस्तै उत्कृष्ट डिफेन्डर प्रभातका रिदम पाण्डे बन्दा उत्कृष्ट मिडफिल्डर प्रभात कै नेमसाङ मगर चुनिए ।

उत्कृष्ट प्रशिक्षक नेपाल पुलिस स्कुलका सागर कार्की चुनिदा उदियमान खेलाडी नेपाल पुलिस स्कुल (निलो) का यारिन भुजेल चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीको पुरस्कार नेपाल पुलिस स्कुल (रातो) का समिर राईले हात पारे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी काृशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरका प्रहरी नायब महानिरीक्षक बिनोद घिमिरे लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments