News भैरव स्पोर्टस १३औं शुद्धोदन फर्साटिकर कपको सेमिफाइनलमा
सुरज राना मगर

फर्साटिकर । संघर्षपुर्ण जितका साथ भैरव स्पोर्टस क्लब, नवलपरासी यहाँ जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा भैरवले आयोजक फर्साटिकर युवा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ भैरवले फागुराम थारुको पेनाल्टी गोलबाट खेलमा अग्रता बनाएको थियो । तर खेलको अन्तिमतिर राज भुषालले फर्साटिकरका लागि बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने भैरव ७–६ ले विजयी बन्यो । खेलमा भैरवका गोलरक्षक भिम मगर म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुष २३ गते बुधबारको पहिलो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र कपिलवस्तु–११ बीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।

Post Comments