News दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ माघ ३ देखि
बिक्रम बानियाँ क्षेत्री

काठमाडौँ (फर्पिङ) । दक्षिणकाली नगरपालिकामा आगामी माघ ३ गतेदेखि ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजना तथा दक्षिणकाली नगरपालिकाको सहकार्यमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगिता फर्पिङस्थित त्रिभुवन आदर्श माविको खेल मैदान (TAMV Ground) मा ९ए साइड (9-A-Side) फर्म्याटमा खेलाइनेछ। प्रतियोगितामा नगरपालिकाका ९ वटै वडाका टोलीहरूले सहभागिता जनाउने निश्चित भएको प्रतिष्ठानका महासचिव सुमन तामाङले जानकारी दिनुभयो।

आकर्षक नगद पुरस्कार

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताभर विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

खेल तालिका र उद्घाटन

सार्वजनिक तालिका अनुसार माघ ३ गते दिउँसो १२:१५ बजे वडा नं. ८ र वडा नं. १ बीचको खेलबाट प्रतियोगिताको उद्घाटन हुनेछ। सोही दिन दोस्रो खेलमा वडा नं. ६ र वडा नं. २ भिड्नेछन्।

मुख्य खेलहरू:

माघ ४ गते: वडा नं. ४ विरुद्ध वडा नं. ५ र वडा नं. ७ विरुद्ध वडा नं. ३।

माघ ५ गते: वडा नं. ६ विरुद्ध वडा नं. ८ र वडा नं. २ विरुद्ध वडा नं. ९।

माघ ६ देखि ११ गतेसम्म: लिग र नकआउट चरणका अन्य प्रतिस्पर्धा हुनेछन्। स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन र सहिदको सम्मानमा आयोजना हुन लागेको यस प्रतियोगितालाई दक्षिणकाली क्षेत्रकै प्रतिष्ठित फुटबल इभेन्टको रूपमा हेरिएको छ। आयोजकले खेल हेर्नका लागि सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई मैदानमा उपस्थित हुन आह्वान समेत गरेको छ।

Post Comments