काठमाडौं । सैनामैना नगर खेलकुद विकास समिति, सैनामैना, रुपन्देहीको आयोजनामा सम्पन्न नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि पशुपति मावि, सालझण्डीले जितेको छ ।
सैनामैना–४, मुर्गिया स्थित सैनामैना रंगशालामा भएको छात्र फुटबलतर्फको फाइनलमा पशुपतिले सिद्धार्थ मेमोरियल स्कुल, कोलोनीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो । पशुपतिको जितमा दुवै गोल करन सुनारले गरे । फाइनल खेलका नायक करन सुनार नै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी र सर्वाधिक गोलकर्ता समेत बने ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक रामचन्द्र सुनार बन्दा उत्कृष्ट डिफेन्डर कुल बहादुर पुन बने । उत्कृष्ट मिडफिल्डर भुवन पुलामी बन्दा उदीयमान खेलाडी प्रवेश सेन चुनिए । त्यस्तै उत्कृष्ट प्रशिक्षक आविस आले घोषित भए ।
त्यस्तै सैनामैना नगरका कुल ३० विद्यालयहरु सहभागि रनिङ शिल्डतर्फ १२ स्वर्ण, १७ रजत र १३ काँस्य पदकसहित पशुपति मावि, सालझण्डीले समग्रा रनिङ शिल्ड विजेता समेत बन्यो । त्यसैगरी ११ स्वर्ण, ५ रजत र १० काँस्य पदकसहित रामापुर मावि, कोलोनी दोस्रो बन्दा ७ स्वर्ण, ३ रजत र २ काँस्य पदकसहित सिद्धार्थ मेमोरियल, कोलोनीले स्थान हासिल गर्यो ।
प्रथम, दोस्रो र तेस्रो स्थानका साथै विभिन्न खेलकुदमा जित हात पार्न सफल विद्यालय टोली तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका, सैनामैनाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा, सैनामैना नगरपालिका कै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम शर्मा, सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक खिम श्रेष्ठ, व्यवस्थापन संयोजक रेजिन श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।