News माल्दिभ्स एक खेल अगाडी नै साफ पुरुष फुटसलको च्याम्पियन, दोस्रो र स्थानको टुंगो अन्तिम दिन नै लाग्ने
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपको उपाधि एक खेल अगावै माल्दिभ्सले जितेको छ । शनिबार माल्दिभ्सले आफ्नो पाँचौं खेलमा भुटानलाई ३–१ ले हराउँदै अन्तिम खेल खेल्नु अघि नै उपाधि पक्का गरेको हो ।

पाँच खेलबाट शतप्रतिशत नतिजाका साथ अपराजित रहेर १५ अंक जोडेको माल्दिभ्स शिर्ष स्थानमा छ र विजेता बनेको छ । त्यस्तै समान ५ खेलबाट १० अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । त्यस्तै समान ८–८ अंक जोडेका भारत र नेपाल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

स्मरण रहोस, शनिबार नै भएको अन्य खेलहरुमा नेपालले बंगलादेशलाई र भारतले श्रीलंकालाई समान ४–१ को अन्तरले हराएको थियो । उता ७ अंक जोडेको बंगलादेश पाँचौं स्थानमा छ भने समान १–१ अंक जोडेका श्रीलंका र भुटान क्रमशः छैठौं र सातौं स्थानमा छन् ।

अब लिग चरणको अन्तिम खेलमा २६ जनवरीका दिन नेपालले भुटानको सामना गर्नेछ । सोही दिन माल्दिभ्सले श्रीलंकासँग खेल्नेछ भने भारतले पाकिस्तानको सामना गर्नेछ । साथै यी तीन खेलहरुको नतिजापछि नै साफ पुरुष फुटसल च्याम्पियनसिपको दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीको टुंगो लाग्नेछ ।

Post Comments