बागधुरा । सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगितामा समपुर्ण युवा क्लब, सुपौलीले विजयी शुरुवात गरेको छ ।
सञ्जिवनी खेलमैदानमा भएको उद्घाटन खेलमा समपुर्णले एन्फा एकेडेमी, बुटवललाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । समपुर्णको जितमा दुवै गोल कप्तान दिनेश गुरुङले गरे । टोलीको जितमा निर्णायक बनेका समपूर्णका कप्तान दिनेश गुरुङ नै खेलको म्यान अफ दि म्याच चुनिए ।
यो जितसँगै समपूर्ण क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ १७ गते शनिबारको खेल सिद्धार्थ युवा क्लब, चपरहट्टी र जनज्योति क्लब, डिंगरनगरबीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १४ का अध्यक्ष अस्विन पौडेल, मुख्य प्रायोजक तथा समाजसेवी खिमाकुमारी पराजुली, आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु), खेल संयोजक खिम थापा लगायतले संयुक्त रुपमा गरेका थिए ।
यही माघ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र कुमार छन्तेलले जानकारी दिए ।