News नवलपरासीमा दोस्रो जेनिथ कप सुरु, उद्घाटन खेलमा विशालनगरको विजयी शुरुवात
गोलनेपाल

सुनवल । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल ३ द्वारा आयोजना गरिएको दोस्रो जेनिथ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ आज जेनिथ रंगशालामा भव्य उद्घाटन समारोहसहित सुरु भएको छ।

उद्घाटन समारोहको अध्यक्षता जेनिथ युथ क्लबका अध्यक्ष, निकेश गुरुङले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा सुनवल नगर प्रमुख बिमला अर्याल उपस्थित रहनु भएको थियो। कार्यक्रममा नगर प्रमुख अर्यालले खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र एकतामा जोड्ने भन्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो।

उद्घाटन खेलमा विशाल नगर फुटबल क्लब र नदुवा युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। खेलमा विशाल नगर फुटबल क्लबले २–० को स्पष्ट जित हात पारेको छ। उक्त जितमा समुन्द्र गुरुङले दुई गोल गर्दै निर्णायक भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका कारण समुन्द्र ज्ञवालीलाई म्यान अफ द म्याच घोषित गरिएको छ।

प्रतियोगितामा नवलपुर, नवलपरासी र रुपन्देही जिल्लाका १६ टोली सहभागी छन्। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवा माझ खेलकुदको रुचि बढाउनुका साथै आपसी एकता र सद्भावना प्रवर्द्धन गर्नु रहेको यस प्रतियोगिताको विजेताले एक लाख बीस हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र, मेडल र उपबिजेताले साठी हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । 

Post Comments