News तेस्रो पौवादुङमा गोल्डकपः अल स्टार सेमिफाइनलमा, सिंहदेवीको पनि जित
गोलनेपाल

पौवादुङमा । अल स्टार क्लब, धरान जारी तेस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ अल स्टारले नयाँ श्रीनाथ गण, भोजपुरलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । अल स्टारको जितमा आयम राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा निर्णायक गोलकर्ता आयम राई नै म्यान अफ दि म्याच बने ।

त्यस्तै आइतबार नै भएको अन्तिम प्रिक्वाटरफाइनल म्याचतर्फ सिंहदेवी फुटबल क्लब, भाम्राङले गोलबजार युनाइटेड क्लब, सिरहालाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ सिंहदेवीका लागि सञ्जय लिम्बु र मिक्सन दासले गोल गरेका थिए भने गोलबजारका लागि बिनु आले र विश्वास राईले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने सिंहदेवी विजयी बन्यो । 

तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।

Post Comments