काठमाडौं (एजेन्सी) । इण्डोनेसियामा जारी एएफसी फुटसल एसियन कपतर्फ साविक विजेता इरानसँगै इराक, दावेदार जापान र आयोजक इण्डोनेसिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलतर्फ इरानले गत संस्करणको तेस्रो स्थान हासिल गर्ने टोली उज्वेकिस्तानलाई ७–४ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा इराकले गत संस्करणको उपविजेता थाइल्याण्डलाई ४–२ ले स्तब्ध बनाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो ।
त्यस्तै जापानले अफगानिस्तानमाथि ६–० को एकतर्फी जित निकाल्दा इण्डोनेसियाले भियतनाममाथि ३–२ को रोमाञ्चक जितका साथ अन्तिम चारको यात्रा पक्का गर्यो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब यही फेब्रुअरी ५ तारीख बिहीबारका दिन पहिलो सेमिफाइनलमा इराकले इरानसँग खेल्नेछ भने सोही दिन दोस्रो सेमिफाइनलमा जापानले इण्डोनेसियाको सामना गर्नेछ ।