News आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
गोलनेपाल

लालबन्दी । आयोजक जिवेश्वर युवा क्लब, सर्लाही घरेलु मैदान मै जारी प्रथम लालबन्दी मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा जिवेश्वरले न्यु त्रियुगा स्पोर्टस क्लब, सप्तरीलाई ४–० को अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । जिवेश्वरको जितमा अभि स्याङतन, सागर कटुवाल, सुजन स्याङतन र सुदिप मगरले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि जिवेश्वर कै आदित्य चौधरी घोषित भए ।

उता खेलमा न्यु त्रियुगा अभागी पनि रहयो । पहिलो हाफमा सुनिल खड्काको पेनाल्टी प्रहार जिवेश्वरका गोलरक्षक अरुण ब्लोनले जोगाउँदा पाहुना टोली चुकचुकाउनु परेको थियो । त्यस्तै दोस्रो हाफमा न्यु त्रियुगा थप दबाबमा परेको थियो । बिमल थोकरले रातो कार्ड खाँदै मैदान छाड्दा दोस्रो हाफमा न्यु त्रियुगाले दश खेलाडीमा सिमित भएर खेल्नु परेको थियो ।

प्रतियोगिता अन्तर्गत माघ २५ गते आइतबारको दोस्रो सेमिफाइनल खेल बिरगंज युनाइटेड क्लब, बिरगंज र बेङ्गखाडी युवा क्लब, महोत्तरी बीच हुने आयोजकले जानकारी दियो ।

जिवेश्वर युवा क्लब, लालबन्दी–१, नवलपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

Post Comments