News प्लानिङ ब्वाईज २६औं बुढासुब्बा गोल्डकपको फाइनलमा
गोलनेपाल

धरान । प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं, सुनसरीमा जारी २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाईजले लालीगुराँस एसोसिएसन, पोखरालाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । धरान रंगशालामा खेलको छैठौं मिनटमा इस्कन्दर सिद्दिकीको गोलबाट लालीगुराँसले खेलमा अग्रता बनाएको थियो । तर, २३औं मिनटमा खेल केही तनावग्रस्त बन्न पुग्यो ।

हात हालाहालको अवस्थामा उत्रिएपछि रेफ्रीले लालीगुराँसका इस्कन्दर सिद्दिकी र टिम व्यवस्थापक ईश्वर बस्याललाई तथा प्लानिङ ब्वाईजका पापा आइबु केबीलाई रातो कार्ड देखाएका थिए । सोही तनावपछि लालीगुराँस दबाबमा पनि पर्न पुग्यो । जसको फाईदा प्लानिङ ब्वाईजले उठायो ।

प्लानिङ ब्वाईजका लागि ५९औं मिनटमा विलियम एलेक्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए भने ८७औं मिनटमा प्रताप राईले दोस्रो गोल गर्दै टोलीको रोमाञ्चक जित जित पक्का गरे । खेलमा प्लानिङ ब्वाईजका निर्णायक गोलकर्ता प्रताप राई नै खेलको म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल झापा–११, फुटबल क्लब, झापा र चर्च ब्वाईज युनाइटेड, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २ गतेका दिन हुनेछ ।

 

Post Comments