News आयोजक गोल्डेन स्टार ११औं भलुवा गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

दुहबी । रोमाञ्चक जितका साथ आयोजक गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरी जारी ११औं भलुवा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा गोल्डेन स्टारले आर.आई.एफसी, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । भलुवा खेलमैदानमा भएको खेलमा गोल्डेन स्टारका लागि खेलको १८ र २७औं मिनटमा कृपाकान्त चौधरीले दुई गोल गर्दै खेलको नायक बने । उता पराजित आर.आई. एफसीका लागि ७६औं मिनटमा अनिष राजधामीले एक गोल फर्काए तापनि टोलीको हार टार्न प्रर्याप्त बनेन । खेलमा गोल्डेन स्टारका लागि नायक बनेका कृपाकान्त चौधरी म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत फागुन ५ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल रारा फुटबल क्लब, राजारानी, धनकुटा र चात्या सा फुटबल क्लब, दमक, झापाबीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

 

Post Comments