चुलाचुली । दशमी युथ क्लब यहाँ जारी प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ दशमी युथले चुलाचुली खेल विकास समितिलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा दशमी युथ ४–३ ले विजयी बन्यो । खेलमा दशमी युथ कै समिर तामाङ म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत फागुन २६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल त्रिवेणी फुटबल क्लब, दमक र युवाईसी, साक्फारा बीच हुने आयोजकले जानकारी दियो ।
फुङनाम स्र्पोटिङ क्लब, फुङनाम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइन्ल खेल भने यही फागुन २९ गतेका दिन हुनेछ ।