चुलाचुली । हिमाल युनाइटेड फुटबल क्लब, कानेपोखरी यहाँ जारी प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा हिमाल युनाइटेडले एसीसीसी आसेटारलाई ३–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । हिमाल युनाइटेडको जितमा प्रशान्त प्रधानले दुई गोल गर्दा थप एक गोल बिराज लिम्बुले गरे । खेलमा हिमाल युनाइटेडका दुई गोलकर्ता प्रशान्त प्रधान म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन २५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल चुलाचुली खेल विकास समिति र दशमी युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
फुङनाम स्र्पोटिङ क्लब, फुङनाम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइन्ल खेल भने यही फागुन २९ गतेका दिन हुनेछ ।