चुलाचुली । उत्कृष्ट जित हात पार्दै आयोजनक फुङनाम स्र्पोटिङ क्लब यहाँ जारी प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा फुङनामले दशमी युथ क्लबलाई ३–१ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । फुङनामको जितमा अनुप मगरले दुई गोल गर्दा रोहन गुरुङले थप एक गोल गरे । उता पराजित दशमीका लागि भने रोशन तामाङले एक मात्र गोल फर्काए । खेलमा महत्वपूर्ण दुई गोल गरेका फुङनामका अनुप गुरुङ म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत फागुन २८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल युनिक युथ क्लब, साक्फारा र हिमाल युनाइटेड फुटबल क्लब, कानेपोखरी बीच हुने आयोजकले जानकारी दियो ।
फुङनाम स्र्पोटिङ क्लब, फुङनाम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइन्ल खेल भने यही फागुन २९ गतेका दिन हुनेछ ।
