बुटवल । खेलकुदको माध्यमबाट लागुपदार्थ दुव्यर्सन विरुद्ध अभियान चलाउने उद्देश्यका साथ आस्था समूह, बुटवल, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि तेस्रो बबुवा दाई स्मृति कप दुई दिने खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।
लुम्बिनी फुटसल एरेनामा भएको प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको आयोजक समूहका अध्यक्ष केशव पुन मगरले जानकारी दिए । साथै दोस्रो चरणको खेल र समापन फागुन ३० गते शनिबार हुने पनि अध्यक्ष पुनले बताए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमका बीच गरेका थिए । सो अवसरमा युवा अभियन्ता सुजन पुन, रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन लगायतको पनि उपस्थिति रहेको थियो ।
रुपन्देहीसहित कास्की, चितवन, काठमाडौं, कपिलवस्तुका गरी कुल ३२ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।