News फुटसल फ्लेम्स, चितवनलाई तेस्रो बबुवा दाई मेमोरियल कपको उपाधि
सुरज राना मगर

बुटवल । आस्था समूह, बुटवलको आयोजनामा सम्पन्न तेस्रो बबुवा दाई मेमोरियल कप खुला फुटसल प्रतियोगिताको उपाधि फुटसल फ्लेम्स (बी), चितवनले जितेको छ ।

शनिबार सम्पन्न प्रतिस्पर्धातमक फाइनलमा फुटसल फ्लेम्सले वाइल्ड बोर, रुपन्देहीलाई २–१ ले हराउँदै प्रतियोगिताको तेस्रो संस्करणको च्याम्पियन बन्न सफल भएको हो ।

विजेता बनेको फुटसल फ्लेम्सले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता बनेको वाइल्ड बोरले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै वाइल्ड बोरका श्रीकृष्ण श्रेष्ठ प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए । उनले त्यसवापत नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक फुटसल फ्लेम्सका अन्जल गुरुङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार फुटसल फ्लेम्स (ए) का महेन्द्र कार्कीले हात पारे । उत्कृष्ट बनेका दुवैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई आयोजक आस्था समूहका अध्यक्ष केशव पुन मगर, रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन, खेल संयोजक भुवन श्रेष्ठ, विशिष्ठ अतिथी सुजन पुन लगायतले पुरस्कृत गरेका थिए ।

दुई दिने प्रतियोगितामा रुपन्देहीसहित कास्की, काठमाडौं, चितवन, कपिलवस्तुका गरी कुल ३२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक भुवन श्रेष्ठले जानकारी दिए ।

Post Comments