News राष्ट्रिय लिगः भगवतीले मनाङलाई हरायो, नव जन जागृतिको पनि जित
गोलनेपाल

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सनसनीपूर्ण नतिजा निस्किने क्रममा श्री भगवती क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई हराएको छ भने नव जन जागृति युवा क्लबले पनि महत्वपूर्ण जित हात पारेको छ ।

दिनको पहिलो खेलमा भगवतीले मनाङमाथि १–० को जित निकाल्यो । भगवतीका लागि सिमान्त थापाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो ।

यो जितपछि १२ खेलबाट १२ अंक जोडेको भगवती लिगतालिकाको १२औं स्थानमा छ । पराजित मनाङ भने १३ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा नव जन जागृतिले काँक्रेबिहार क्लबलाई २–१ ले पराजित गर्यो । नव जन जागृतिका लागि चीना लामा र उदित नारायण चौधरीले गोल गरे । उता पराजित काँक्रेबिहारका लागि भने सोनम आचार्यले गोल फर्काएका थिए ।

यो नतिजापछि ११ खेलबाट ४ अंक जोडेको नव जन जागृति लिगतालिकाको पुछारतिर १६औं स्थान मै संघर्षरत छ । पराजित काँक्रेबिहार भने १ अंकका साथ पुछारको १७औं स्थानमा छ ।

Post Comments