News आयोजक द योङ ब्रदर्श सेमिफाइनलमा
गोलनेपाल

इटहरी । आयोजक योङ ब्रदर्श क्लब, इटहरी जारी तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा द योङ ब्रदर्शले कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतलाई ४–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

द योङ ब्रदर्शको जितमा फोफनाले दुई गोल गर्दा सिजल राई र कोमल खवासले समान एक–एक गोल गरे । उता पराजित कञ्चनजंघाका लागि कुनाल गुरुङ र प्रमेश प्रधानले गोल गरेका थिए । खेलमा द योङ ब्रदर्शका सिजल राई प्लेयर अफ दि म्याच बने ।

खेल केही समय तनावपूर्ण पनि बनेको थियो । जसमा रेफ्रीले कञ्चनजंघाका गोलरक्षक उदय साह र पुजन सुब्बालाई रातो कार्ड देखाएका थिए । दबाबका बीच खेलेको कञ्चनजंघाले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।

प्रतियोगिता अन्तर्गत चैत्र ४ गते बुधबारको पहिलो सेमिफाइनल खेल केराबारी फुटबल क्लब, मोरङ र लोहोरुङ्ग फुटबल क्लब, संखुवासभाबीच हुने आयोजकले जानकारी दियो ।

द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ७ गतेका दिन हुनेछ ।

Post Comments