इटहरी । लोहोरुङ्ग फुटबल क्लब, संखुवासभा यहाँ जारी तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा लोहोरुङ्गले केराबारी फुटबल क्लब, मोरङलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । लोहोरुङ्गको जितमा बिबेक राईले एक मात्र निर्णायक गोल गरे । खेलमा लोहोरुङ्ग कै बिनोद राई प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र ५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक द योङ ब्रदर्श क्लब, इटहरी र बसाहा क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।
द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ७ गतेका दिन हुनेछ ।
