इटहरी । बसाहा क्लब, उदयपुर जारी तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा बसाहाले आयोजक द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
बसाहाको जितमा खेलको ४९औं मिनटमा रितेश तामाङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । बसाहाका निर्णायक गोलकर्ता रितेश तामाङ नै खेलको प्लेयर अफ दि म्याच चुनिए ।
बसाहा क्लबले अब चैत्र ७ गते शनिबारका दिन हुने फाइनलमा लोहोरुङ्ग फुटबल क्लब, संखुवासभासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
