News कपिलवस्तुमा शुरु भयो दोस्रो शिवशक्ति कप, जागृतिको विजयी शुरुवात
सुरज राना मगर

शिवराज । “खेलकुदः स्वास्थ्यको आधार, राष्ट्रको गौरव, युवाहरुको” भन्ने नाराका साथ शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कपिलवस्तुको आयोजनामा आइतबारदेखि दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

शिवराज नगरपालिका–१ स्थित आयोजक क्लब कै शिवशक्ति खेलमैदानमा भएको उद्घाटन खेलमा जागृति युवा क्लब, शिवराज–५, कपिलवस्तुले विजयी शुरुवात गर्यो । विजयी शुरुवात गर्ने क्रममा जागृतिले राप्ती युवा क्लब, दाङलाई पेनाल्टी शुटआउटमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा जागृति ४–३ ले विजयी बन्यो ।

खेलमा पराजयका बावजुद राप्तीका गोलरक्षक खिम प्रसाद भण्डारी प्लेयर अफ दि म्याच चुनिए । यो जितसँगै जागृति क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र ९ गतेदेखि दिनको दुई खेलहरु हुने खेल संयोजक अर्जुृन शर्माले जानकारी दिए । कुल १७ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने चैत्र १७ गतेका दिन हुने खेल संयोजक अर्जुन शर्माले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिका, कपिलवस्तुका नगरप्रमुख अजय थापा, शिवराज नगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष खिम बिक्रम केसी, आयोजक क्लबका अध्यक्ष दिपु बस्नेत लगायतले संयुक्त रुपमा गरेका थिए । नगरका वरिष्ठ पत्रकार कमल बिष्टको सञ्चालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा सामाजिक अभियन्ता आश केसी, अम्बिका गिरी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको प्रचार प्रसार संयोजक आशिष जिसीले जानकारी दिए ।

 

Post Comments