News कालिका युवा क्लब मुसाङखेललाई १२ औं खोरुण्डे रनिङ कपको उपाधी
गोलनेपाल

जिरीखिम्ती । तेह्रथुमको जिरीखिम्ती बजारमा जिरीखिम्ती युथ क्लबको आयोजनामा आईतबार सम्पन्न ऐतिहासिक १२औँ खोरुण्डे रनिङ कप पुरुष फुटबलतर्फको उपाधी कालिका मुसाङखेलले हात पार्न सफल भएको छ।

आयोजक जिरीखिम्ती युथ क्लबलाई घरेलु मैदानमा पेनाल्टी सुटआउटमा पराजित गर्दै कालिका मुसाङखेलले उपाधी हात पारेको हो।

निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिए पश्चात् उक्त खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। निर्धारित समयमा कालिका मुसाङखेलका लागि माधव तामाङले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । एक शुन्य गोलले पछि परेको अवस्थामा जिरीखिम्तीका डिम्पल भण्डारीले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका हुन। त्यसपश्चात् बाँकी समय दुवै टोलीबाट कुनै पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो। 

पेनाल्टी सुटआउटमा पहिलो प्रहार नै निर्णायक बनेको थियो। जिरीखिम्तीको तर्फबाट डिम्पल भण्डारीको पहिलो पेनाल्टी प्रहारलाई मुसाङखेलका गोल रक्षक निकेश सुन्दासले उत्कृष्ट ढङ्गबाट जोगाउँदै उपाधी दिलाउन सफल भएका हुन्। दुवै टोलीको तर्फबाट बाँकी सम्पूर्ण प्रहारहरू गोलमा परिणत हुँदा ५ - ४ को नतिजामा कालिका मुसाङखेलले जित हात पारेको हो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मुसाङखेलका निकेश सुन्दास,उत्कृष्ट डिफेन्डर जिरीखिम्तिका सनीर तामाङ, सर्वाधिक गोलकर्ता जिरीखिम्तीकै डिम्पल भण्डारी बन्दा जनही रु.३००० रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने मुसाङखेलका सुवास तामाङ बन्दै नगद रु. ५,००० प्राप्त गरेका छन्।

विजेता बनेको कालिका मुसाङखेलले नगद रू. १ लाख २० हजार सहित आकर्षक ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको जिरीखिम्ती युथ क्लबले नगद रु.८० हजार रुपैयाँ प्राप्त गरेको छ।

 

Post Comments