बुटवल । खेलकुदका साथसाथै समाजप्रति पनि उत्तरदायी बन्ने उद्देश्यका साथ युवाहरुको समूहद्वारा स्थापित मणिग्राम युनाइटेड, तिलोत्तमा, रुपन्देहीले समाजप्रतिको त्यो जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छ ।
क्लबले केही साता अघि मात्रै खुला फुटसल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता सम्पन्न भएपश्चात बचत भएको केही रकम नै सामाजिक कार्यमा लगाएको क्लबका अध्यक्ष मदन सलामीले बताए ।
क्लबका अध्यक्ष मदन सलामीका अनुसार फुटसल प्रतियोगिताबाट बचत भएको केही रकम माथिल्लो डोल्पाको कु क्षेत्र स्थित सामुदायिक बिद्यालय टाशी सुम्धो बेसिक स्कुलका विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको बताए ।
उक्त सामाग्रीहरु सामाजिक कार्यमा सक्रिय रहेको द राइजिङ कु को माध्यमबाट डोल्पा पठाइएको अध्यक्ष सलामीले जानकारी दिए । दुर्गम क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकास तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सामग्री पठाइएको क्लब अध्यक्ष मदन सलामीको भनाई थियो ।
उता क्लबका संयोजक समेत रहेका दिपेन बुढाथोकीले सामाजिक कार्यहरुमा आफूहरुले पछिल्ला केही वर्षदेखि निरन्तर सक्रिय भई लागिपरेको बताए । संयोजक दिपेन बुढाथोकी भन्छन्, “यस्ता कार्यहरु हामीले पहिला पनि गरेका थियौं । समाजप्रति हामी युवाहरु पनि जिम्मेवार बन्नुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक कार्यहरुलाई निरन्तरता दिइएको हो ।” साथै समाजप्रतिका यी रचनात्मक कार्यहरु आगामी दिनमा पनि जारी रहने उनले बताए ।
त्यस्तै आर्थिक संयोजक तथा क्लब कै कोषाध्यक्ष समेत रहेका सन्तोष खत्रीले खर्च भन्दा पनि समाजका लागि आफूहरुले केही सकारात्मक काम गर्न सकेकोमा खुशीसँगै उत्साहित रहेको बताए । कोषाध्यक्ष सन्तोष खत्री भन्छन् “फुटसल प्रतियोगिता आयोजना गर्नुअघि नै हामीले सामाजिक कार्यमा केही गर्नुपर्छ भन्ने योजना बनाएका थियौं । त्यही योजनालाई हामीले फुटसल प्रतियोगिता सम्पन्न गरेपछि कार्यान्वयन गरेका हौं । खेलकुदसँगै समाजप्रतिको हाम्रो जिम्मेवारीले आउने दिनहरुमा पनि निरन्तरता पाउनेछ ।”
स्मरण रहोस, मणिग्राम युनाइटेडले फुटसल प्रतियोगिता आयोजना मात्र नभई स्थानीय र राष्ट्रियस्तर कै प्रतियोगिताहरुमा सहभागिता जनाई सफलता समेत हासिल गरेको छ । साथै क्लबका खेलाडी साथीभाईहरुसँग पनि निरन्तर सहकार्य गर्दै आईरहेको छ ।