News रुपन्देहीमा शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप चैत्र १९ गतेदेखि, विजेताले ५ लाख ५ हजार पाउने
सुरज राना मगर

बुटवल । रुपन्देहीको पुरानो र परिचित क्लब मध्ये एक सौभाग्य युवा क्लब, बुटवल, रुपन्देहीको आयोजनामा यही चैत्र १९ गतेदेखि शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक क्लबले प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जानकारी दियो । बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा हुने प्रतियोगितामा रुपन्देहीसहित कपिलवस्तु, नवलपुर, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरु सहभागि हुने खेल संयोजक प्रकाश क्षेत्रीले बताए ।

खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुजु मल्लले बताए । सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही २०–२० हजार नगदको व्यवस्था गरिएको जानकारी गराइयो । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष मल्लले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ३९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथीका रुपमा उपस्थित बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ का वार्ड अध्यक्ष पदम गाहा, सिद्धेश्वर उच्च मा.वि., बुटवल–७, दीपनगरका प्रधानाध्यापक दिनानाथ गिरी लगायतले पनि आ–आफ्नो मन्तव्य दिएका थिए ।

त्यस्तै दर्शकहरुको सहजताका लागि मैदानमा अस्थायी प्यारापिट समेत बनाइएको खेल संयोजक प्रकाश क्षेत्रीले बताए । साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments