शिवराज । खेलकुदसँगै स्थानीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कपिलवस्तुको आयोजनामा मंगलबार मैत्रीपूर्ण महिला फुटबल म्याच सम्पन्न भएको छ ।
शिवराज नगरपालिका–१, कलौनी स्थित शिवशक्ति खेलमैदानमा भएको खेलमा राइजिङ स्टार युथ क्लबले जय बुद्ध सोसल युथ क्लबलाई ३–१ ले हरायो ।
राइजिङ स्टारको जितमा प्रतिमा घर्ती मगर, सृजना घर्ती मगर र एलेक्स श्रेष्ठले गोल गरीन् । उता पराजित जय बुद्धका लागि भने आशिका परियारले एक मात्र गोल फर्काएकी थिईन् ।
स्थानीयस्तरमा महिला खेलाडीहरुलाई पनि खेलकुदमा लाग्न हौसला र अवसर दुवै मिलोस भनेर मैत्रीपूर्ण फुटबल म्याच आयोजना गरिएको कार्यक्रम संयोजक अर्जुन शर्माले बताए ।
स्मरण रहोस, शिवशक्ति क्लब कै आयोजनामा जारी दोस्रो शिवशक्ति कपको फाइनल पनि मंगलबार (चैत्र १७ गते) नै हुँदैछ । उपाधिका लागि आयोजक शिवशक्ति युवा क्लब (रातो) र ग्रीन भिजन युथ क्लब भिड्ने छन् ।