News कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
सुरज राना मगर

शिवराज । शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा सम्पन्न दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि ग्रीन भिजन युथ क्लबले जितेको छ ।

फाइनलमा ग्रीन भिजनले आयोजक शिवशक्ति युवा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । शिवराज–१, कलौनी स्थित शिवशक्ति खेलमैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा ग्रीन भिजन ७–६ ले विजयी बन्यो ।

विजेता बनेको ग्रीन भिजनले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता घरेलु टोली शिवशक्तिले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ फाइनल खेलको प्लेयर अफ दि म्याच र उत्कृष्ट गोलरक्षक ग्रीन भिजनका बिशाल केसी चुनिए । उत्कृष्ट डिफेन्डर पनि ग्रीन भिजन कै चन्द्र पुन मगर बन्दा उत्कृष्ट मिडफिल्डर शिवशक्तिका केशमान जिएम बने ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार शिवशक्तिका सुरज चौधरीले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि शिवशक्ति कै कप्तान आशिष जिसी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद अर्जुन कुमार केसी, शिवराज नगरपालिका, कपिलवस्तुका मेयर अजय थापा, शिवराज नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष खिम बिक्रम केसी, आयोजक क्लबका अध्यक्ष दिपु बस्नेत र खेल संयोजक अर्जुन शर्मा लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments