बुटवल । सौभाग्य युवा क्लब, बुटवल–७, दीपनगर, रुपन्देहीको आयोजनामा शुरु भएको शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा देवदह ब्वाईज, रुपन्देहीले विजयी शुरुवात गरेको छ ।
बुटवल–७, दीपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको उद्घाटन खेलमा देवदहले गोखा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । देवदहको जितमा खेलको ४४औं मिनटमा फोडे फोफनाले पहिलो गोल गरे भने इन्जुरी समयतर्फ निर बहादुर थापाले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा देवदहका शुरुवाती गोलकर्ता फोडे फोफना प्लेयर अफ दि म्याच घोषित भए ।
यो जितसँगै देवदह ब्वाईज क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र २० गते शुक्रबारको खेल समपुर्ण युवा क्लब, सुपौली र फोर ब्रदर्श फुटबल क्लब, सरावल, नवलपरासीबीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष सुजु मल्ल, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, प्रचार प्रसार संयोजक राजु रिजाल, सिद्धेश्वर माविका प्रधानाध्यापक दिनानाथ गिरी लगायतको पनि उपस्थिति रहेको थियो ।
यही चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक प्रकाश क्षेत्रीले बताए । त्यसवाहेक विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।