News ऐतिहासिक आठराई मदन मेला २०८३ वैशाख ५ देखि १२ सम्म, पुरस्कार राशिमा भारी वृद्धि
गोलनेपाल

आठराई । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारमा बि.सं. २०१५ सालदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक आठराई मदन मेला यस वर्ष २०८३ वैशाख ५ गतेदेखि १२ गतेसम्म भव्य रूपमा सञ्चालन हुने भएको छ।

बिहीबार सक्रान्ति बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत मेला सञ्चालन समितिले यस वर्ष मेलामा समावेश गरिने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको औपचारिक जानकारी सार्वजनिक गरेको हो।

मेला सञ्चालन समितिका सचिव युवराज इङनामका अनुसार मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका स्तरीय पुरुष भलिबल तथा व्याडमिन्टन प्रतियोगिताका साथै विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू आयोजना गरिनेछ।

खुल्ला पुरुष फुटबल प्रतियोगितामा विजेताले नगद ३ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी हात पार्नेछन्। त्यसैगरी, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा पनि विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र उपविजेतालाई ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

मेला समिति अध्यक्ष टासी लामाका अनुसार यस वर्ष सबै विधाका खेलकुद प्रतियोगितामा पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ। गत संस्करणमा खुल्ला पुरुष फुटबलतर्फ विजेताले २ लाख ५ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था रहेकोमा यस पटक ९६ हजार वृद्धि गरी ३ लाख १ हजार १११ रुपैयाँ पुर्याइएको छ। उपविजेतातर्फ पनि १ लाख ३१ हजार रुपैयाँबाट बढाएर १ लाख ५५ हजार ५५५ रुपैयाँ पुर्याइएको छ।

त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताको पुरस्कार ८० हजार ५५५ रुपैयाँबाट वृद्धि गरी १ लाख ११ हजार १११ रुपैयाँ बनाइएको छ भने उपविजेताको पुरस्कार ५० हजार रुपैयाँबाट बढाएर ५५ हजार ५५५ रुपैयाँ पुर्याइएको छ।

Post Comments