News झरना स्पोर्टस दोस्रो सौभाग्य गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

ब्टवल । झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीमा जारी स्व. प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा झरनाले आयोजक सौभाग्य युवा क्लब, दीपनगरलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । बुटवल–७ स्थित सिद्धेश्वरी माविको खेलमैदानमा भएको निर्धारित समयतर्फ झरनाका लागि सृजन राज गौतमले गोल गरेका थिए भने सौभाग्यका लागि योमीले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने झरना ४–३ ले विजयी बन्यो । खेलमा झरनाका सञ्जय चौधरी म्यान अफ दि म्याच बने ।

त्यस्तै बुधबार हुने भनिएको तेस्रो क्वाटरफाइनल खेल प्रतिकुल मौसमका कारण स्थगित हुँदा उक्त खेल बिहीबार बिहान खेलाइएको थियो । जसमा मोन्स्टर गाईज, सुनवलले अभिषेक चर्च एफसी, रजहरलाई पेनाल्टी शुटआउटमा हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत चैत्र २७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल मोन्स्टर गाईज, सुनवल र देवदह ब्वाईज, देवदहबीच हुने खेल संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल ७, दीपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३० गतेका दिन हुनेछ ।

 

Post Comments