बराहक्षेत्र । चित्लाङ फुटबल क्लब, काठमाडौं, सुनसरीमा जारी नवौं भरौल गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ ।
बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा चित्लाङले घरेलु टोली न्यु स्टार क्लब, भरौललाई २–१ ले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
चित्लाङको जितमा अस्तिस सोनाम र सोलोमनले गोल गरे । उता पराजित न्यु स्टारका लागि भने नितेश लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा चित्लाङका अस्तिस सोनाम प्लेयर अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत चैत्र २७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल इन्ट्रा पथरी–११ फुटबल क्लब, मोरङ र जर्जियन फुटबल क्लब, कालिम्पोङ, भारतबीच हुने आयोजकले जानकारी दियो ।
न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
