गोलबजार । ब्रदरहुड फुटबल क्लब, उदयपुर जारी नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बिहीबार भएको चौथो क्वाटरफाइनलमा ब्रदरहुडले गोलबजार युनाइटेड क्लब, सिरहालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ ब्रदरहुडका लागि आकाश राई र सुदिप श्रेष्ठले गोल गरेका थिए भने गोलबजार युनाइटेडका लागि प्रवेश मगर र युवराज घिसिङले गोल गरेका थिए ।
यद्यपि पेनाल्टी शुटआउटमा ब्रदरहुड सफल बन्यो । खेलमा ब्रदरहुड कै गोलरक्षक सौरभ बराल म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत्र २७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब, सुनसरी र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २९ गतेका दिन हुनेछ ।