बुटवल । युथ बिलिभर्स क्लब, तिलोत्तमा–३, रुपन्देहीको आयोजनामा शुक्रबारदेखि दुई दिने युथ बिलिभर्स कप खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।
लुम्बिनी फुटसल एरिनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएको खेल संयोजक प्रदिप नेपालीले जानकारी दिए । साथै समापन चैत्र २८ गते शनिबार हुने समेत खेल संयोजक प्रदिप नेपालीले बताए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले गरेका थिए । पछिल्लो समय खेलपे्रमी मेयरका रुपमा समेत आफ्नो छवी बनाएका खाँडले खेलकुद क्षेत्रमा तिलोत्तमा नगरपालिकाले गर्नुपर्ने आवश्यक सहयोग र पहल निरन्तर गरिरहने बताए ।
सो अवसरमा आयोजक क्लबका अध्यक्ष विवेक सिंह भुजेलको पनि उपस्थिति रहेको थियो । फुटसल खेललाई मोफसलमा अझै प्रभावकारी बनाउने र युवा खेलाडीहरुलाई सही मार्ग लाग्न अभिप्रेरित गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष विवेक सिंह भुजेलले बताए ।
कुल २४ टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक प्रदिप नेपालीले जानकारी दिए ।