News कमब्याक जितसहित सञ्जीवनी धनकुटा प्रथम आमन्त्रित जरायोटार कपको उपाधि नजिक
गोलनेपाल

जरायोटार । अरुण गाउँपालिका वडा नम्बर - ६ जरायोटार भोजपुर स्थित पाल्पाले खेलमैदानमा जरायोटार खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रथम आमन्त्रित जरायोटार (माङिदिङग्) कप नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलसँगै पहिलो सेमिफाइनल खेल पनि सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा पाल्पाले युनाइटेड भोजपुरले जाल्पादेवी फुटबल क्लब पाख्रीबास धनकुटालाई २ - ० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। पाल्पाले युनाइटेडको जितमा युगन राई र सौर्य राउतले समान एक एक गोल गरेका हुन। उक्त खेलमा युगन राईले एक गोल र एक असिस्ट प्रदान गर्दै म्यान अफ दि म्याच बन्दा नगद रु.२००० रूपैँया प्राप्त गरेका छन्।

त्यसैगरी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सञ्जीवनी फुटबल क्लब साँगुरीगढी-१ बुढी मोरङ धनकुटा र तालतलैया फुटबल क्लब इटहरी सुनसरीबीच रोमञ्चक प्रतिस्पर्धा रहँदा तालतलैयालाई एक गोलका विरुद्ध दुई गोल गर्दै संजीवनी धनकुटाले फाइनलको यात्रा तय गरेको हो। किरन राईको उत्कृष्ट फ्री-किक गोलमा अग्रता लिएको सुनसरीले उक्त नतिजालाई लामो समयसम्म टिकाउन सकेन। कमब्याक जित दर्ता गर्ने क्रममा सञ्जीवनी धनकुटाका लागि समिर राईले दुई गोल गरेका हुन् साथै उनी उक्त खेलको नायक बन्दै नगद रु.२००० रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल पाल्पाले युनाइटेड भोजपुर र बुढासुब्बा फुटबल क्लब धनकुटा शनिबार बिहान ठिक १० बजे प्रतिस्पर्धा गर्ने छन्।

Post Comments