News बेङखडी र हिम कस्तुरी सेमिफाइनलमा
गोलनेपाल

चन्द्रपुर । चन्द्रपुर मेयर प्रदेश नम्बर २ एन्फा लिगको समूह बी बाट बेङखडी युवा क्लब, महोत्तरी र हिम कस्तुरी युवा क्लब, सिराहा क्रमशः समूह विजेता र उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा बेङ्खडीले यज्ञ भुमि युवा समाज, धनुषामाथि ६–१ को शानदार जित निकाल्यो । चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा भएको खेलमा यज्ञ भुमिले शुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३६औं मिनटमा राकेश यादवको गोलबाट यज्ञ भुमिले खेलमा शुरुवाती अग्रता लिएको थियो । तर उत्कृष्ट पूनःरागमन गरेको बेङ्खडीका लागि कृष्ण रानाले ४०औं मिनटमा पहिलो गोल फर्काए । ५७औं मिनटमा अनिल पाछेले बेङखडीका लागि दोस्रो गोल थपे ।

दोस्रो हाफमा पूर्ण हावी बनेको बेङखडीका लागि ६५औं मिनटमा बिपिन श्रेष्ठले तेस्रो गोल थपे भने ७०औं मिनटमा दिपेश राईले चौथो गोल गर्न सफल भए । त्यस्तै ७८औं मिनटमा कृष्ण रानाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे भने ८९औं मिनटमा प्रकाश पाख्रिनले छैटौं गोल थप्दै टोलीको जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच बेङखडीका कृष्ण राना घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

हिम कस्तुरीको पनि रोमञ्चक जित

समूह बी तर्फकै अर्को खेलमा हिम कस्तुरीले युनिभर्सलमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । हिम कस्तुरीका लागि ४४औं मिनटमा योन्जन हमालले पहिलो गोल गरे । तर ५९औं मिनटमा सचु गुरुङले युनिर्भसका लागि बराबरी गोल फर्काउन सफल भए ।

यद्यपि ६९औं मिनटमा हिम कस्तुरीका लागि निर्मल लामाले दोस्रो गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता युनिभर्सलले खेलमा पेनाल्टीको अवसर पनि पाएको थियो । तर त्यसलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनु पर्यो ।

खेलमा हिम कस्तुरीका मनोज सेन्चुरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

समूह बी तर्फ ३ खेलबाट ७ अंक जोडेको बेङखडी युवा क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने ४ अंक जोडेको हिम कस्तुरी समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह बी मा युनिभर्सलको पनि समान ४ अंक भए तापनि हेड टु हेडका आधारमा हिम कस्तुरीसँग पछि पर्न पुग्यो ।

सेमिफाइनल समिकरण पनि पूरा

जारी प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनल खेलहरु फागुन ५ गतेका दिन हुने आयोजकले जनाएको छ । जसअन्तरगत पहिलो सेमिफाइनलमा मनकामना युवा क्लब, रौतहट र हिम कस्तुरी युवा क्लब, सिराहा भिड्ने छन् भने सोही दिन दोस्रो सेमिफाइनलमा पर्सा फुटबल क्लब, पर्सा र बेङखडी युवा क्लब, महोत्तरी भिड्ने छन् ।

प्रदेश फुटबल संघ, प्रदेश नम्बर २ को आयोजना र चन्द्रपुर नगरपालिका तथा रौतहट जिल्ला फुटबल संघको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments