News १६औं इटहरी गोल्डकपः मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

इटहरी । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं सुनसरीमा जारी १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ मच्छिन्द्रले झापा ११ फुटबल क्लब, झापालाई पेनाल्टी शुटआउटमा हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।

त्यसअघि इटहरी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ २०औं मिनटमा बाबाटुन्डेले झापाका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि खेलको अन्तिमतिर सनिष श्रेष्ठले मच्छिन्द्रका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । पेनाल्टी शुटआउटमा भने मच्छिन्द्र ८–७ ले विजयी बन्यो । खेलमा मच्छिन्द्रका सनिष श्रेष्ठ म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख २ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब, इटहरी र सातदोबाटो युथ क्लब, लतिलपुरबीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ७ गतेका दिन हुनेछ ।

 

Post Comments