खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ डी गाउँस्थित मिनी रंगशालामा चैत्र ३० गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन भइरहेको एमटी एरिना प्रथम खजुरा गोल्डकप–२०८२ अन्तर्गत सम्पन्न खेलमा फोर ब्रदर्स फुटबल क्लब, सरावल (नवलपरासी) ले काँक्रेविहार क्लब, सुर्खेतलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलको पहिलो हाफमै फोर ब्रदर्सका कप्तान नवीन महतोले ८औँ, १६औँ र ३८औँ मिनेटमा लगातार तीन गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे। यद्यपि, काँक्रेविहारका सन्दीप देउवाले १८औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई ३–१ मा ल्याएका थिए।
दोस्रो हाफमा काँक्रेविहारले खेलमा फर्किने प्रयास गर्दै ६३औँ मिनेटमा गणेश पुलामी मगरमार्फत अर्को गोल थप्यो। खेल प्रतिस्पर्धात्मक बनेकै बेला ८१औँ मिनेटमा नवीन महतोले आकर्षक फ्रीकिकमार्फत व्यक्तिगत चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
पूरा समय ४–२ को जितसहित फोर ब्रदर्स सेमिफाइनलमा प्रवेश गर्न सफल भयो। उत्कृष्ट प्रदर्शन गरेका कप्तान नवीन महतो ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगिता न्यू डाँफे स्पोर्ट्स क्लब, खजुरा–बाँकेको आयोजनामा सञ्चालन भइरहेको हो। प्रतियोगिताको विजेताले नगद रु. ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।