खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ डी गाउँस्थित मिनी रंगशालामा चैत्र ३० गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन भइरहेको एमटी एरिना प्रथम खजुरा गोल्डकप–२०८२ अन्तर्गत सम्पन्न खेलमा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब, खजुरा–बाँकेलाई जेबीएम् फुटबल एकेडेमी, लखनउ (भारत) ले १–० ले पराजित गरेको छ।
पहिलो हाफको ३२औँ मिनेटमा अरुणले उमेश दर्लामी मगरको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए, जसले खेलको दिशा नै तय गर्यो। आयोजक टोलीले त्यसपछि बराबरीका लागि निरन्तर प्रयास गरे पनि जेबीएम् एकेडेमीको मजबुत डिफेन्स तोड्न सकेन। पूरा समय १–० को जित निकाल्दै जेबीएम् फुटबल एकेडेमीले महत्वपूर्ण सफलता हात पार्यो भने उत्कृष्ट प्रदर्शन गरेका उमेश दर्लामी मगर ‘म्यान अफ द म्याच’ घोषित भए।
न्यू डाँफे स्पोर्ट्स क्लब, खजुरा–बाँकेको आयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक एमटी एरिना स्पोर्ट्स वेयर रहेको छ। प्रतियोगिताको विजेताले नगद रु. ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, जसमा विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्य रहेको छ।
यसैबीच प्रतियोगिताअन्तर्गत भोलि हुने अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं र जस्ट जोन नाइजेरियाबीच दिउँसो ४ बजे प्रतिस्पर्धा हुनेछ। सेमिफाइनल प्रवेशका लागि हुने यस खेलमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।