इटहरी । सातदोबाटो युथ क्लब, ललितपुर सुनसरीमा जारी रेडबुल १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो क्वाटरफाइनलतर्फ बुधबार सातदोबाटोले घरेलु टोली राष्ट्रिय जागृति क्लब, इटहरीलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बन्न सफल भएको हो । सातदोबाटोको जितमा ३१औं मिनटमा सुरज जिउ ठकुरी र ३५औं मिनटमा समिर तामाङले गोल गरे । खेलको म्यान अफ दि म्याच सातदोबाटो कै गोलकर्ता समिर तामाङ बने ।
प्रतियोगिता अन्तर्गत बैशाख ३ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं र युके एफसी, दार्जिलिङ, भारतबीच हुने आयोजकले जानकारी दियो ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ७ गतेका दिन हुनेछ ।