News प्लानिङ ब्वाईज १६औं इटहरी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं सुनसरीमा जारी रेडबुल १६औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमनत्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बिहीबार भएको चौथो क्वाटरफाइनलतर्फ प्लानिङ ब्वाईजले युके एफसी, दार्जिलिङ (भारत) लाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । प्लानिङ ब्वाईजको जितमा फागुराम थारुले दुई गोल गर्दा धिरेन्द्र बहादुर साहले थप एक गोल गरे । उता युके एफसीका लागि निवास रानाले एक मात्र गोल फर्काएका थिए । खेलमा प्लानिङ ब्वाईजका दुई गोल गर्दा फागुराम थारु प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख ४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र गछिया युवा समाज, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ७ गतेका दिन हुनेछ ।

Post Comments