संक्रान्ति बजार । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा आयोजित ऐतिहासिक मदन मेला २०८३ को अवसरमा आयोजित पुरुष फुटबलतर्फ आज पाँच टोली विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा याकुम्बा गढी चुहानडाँडालाई १० गोलले पराजित गर्दै एएलजी ह्वाकु दोस्रो चरणमा प्रवेश गरेको हो । छवि गुरुले गरेको गोल नै निर्णायक बनेको थियो । खेलको प्लेयर अफ दी म्याच विप्लव इङनाम भए ।
दोस्रो खेलमा धनकुटाको ड्रिम ब्वाइजले सपन गुरुङको गोल मद्दतले इवाको लाफा एफसीलाई पराजित गर्यो । निर्णायक गोलकर्ता सपन प्लेयर अफ दी म्याच बने । तेस्रो खेलमा चुटान एफसी विजयी भयो । उसका लागि सविन मगरले गरेको गोल नै निर्णायक बनेको हो । उनी प्लेयर अफ दी म्याच बने ।
चौथो खेलमा साविक विजेता ताप्लेजुङ को सोदुङ सेन्दाङ एफसीले सानदार जित निकालेर दोस्रो चरणमा प्रवेश गर्यो । खाम्लालुङको सेन्लप क्लबलाई ४० गोलअन्तरले ताप्लेजुङ विजयी भएको हो । उसका लागि प्रतियोगिताकै पहिलो ह्याट्रिक दिपेश लिम्बूले गरे भने सविन तामाङको नाममा एक गोल रह्यो । दिपेश प्लेयर अफ दी म्याच बने ।
आजै भएको अन्तिम खेलमा युथ स्पोर्टिङ क्लब थोक्लुङलाई टाइब्रेकरमा ४२ गोलअन्तरले पराजित गर्दै सिंहपुर युथ क्लब पाँचथर दोस्रो चरणमा प्रवेश गरेको छ । प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद २ हजार पाए ।
२०१५ सालदेखि लाग्दै आएको मेलामा खुल्ला पुरूष फुटबल, खुल्ला महिला फुटबल, खुल्ला पुरूष भलिबल, व्याडमिन्टन प्रतियोगिताका साथ विविध सॉस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।
पुरुष फुटबलतर्फ २०, महिला फुटबलतर्फ ७ टोली सहभागी छन् । फुटबलको पुरूषतर्फको विजेताले ३ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले १ लाख ७५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै, खुल्ला महिला फुटबलतर्फ विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछन् । खुल्ला पुरूष भलिवल प्रतियोगितामा विजेताले १ लाख ११ हजार १११ सहित ट्रफी र उपविजेताले ५५ हजार ५५५ सहित ट्रफी प्राप्त गर्नेछन् ।
सबै विधाका खेलकुदमा यसपटक पुरस्कार राशिमा भारी वृद्धि गरिएको मेला समिति अध्यक्ष लामाले बताएका छन् । गत संस्करणमा पुरूष फुटबलतर्फ २ लाख ५ हजारबाट बढाएर यो संस्करणमा १ लाख ६ हजार वृद्धि गरिएको हो भने उपविजेतालाई १ लाख ३१ हजारदेखि बढाएर १ लाख ५५ हजार ५५५ पुर्याइएको छ ।